काठमाडौंमा यो वर्षकै अत्याधिक चिसो दिन

काठमाडौं,९ माघ । यो वर्षकै अत्याधिक चिसो दिन रेकर्ड गरिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार काठमाडौंको मंगलबारको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसैगरी, सोमबारको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौं उपत्यकामा मात्र नभएर अहिले देशका अधिकांश भू–भागमा चिसो बढेको छ । तराई बाहेक अन्य स्थानमा दिउँसो घाम लागेता पनि बिहान र बेलुकी चिसो बढेकाले जनजीवन प्रभावित बनेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

हालको मौसमी अवस्था

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। यसका साथै देशका तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने पुर्वानुमान गरिएको छ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।यस्तै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्