अर्थतन्त्र लयमा फर्किंदैछ : अर्थमन्त्री डा. महत

काठमाडौं,९ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किंदै गएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सोमबार गर्दै मन्त्री महतले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाँदा मुलुकको अर्थतन्त्र निकै बिग्रिएको रहेको तर पछिल्लो समय सुधार भइरहेको बताए ।

अर्थमन्त्री डा. महतले नेपाल र भारतको सिमानामा रहेका बाराका केही नाकाहरु खुलाउने विषयमा दुवै देशको अधिकारीहरुसँग चाँडै संवाद गर्ने बताए । निजगढ विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम तीव्ररुपमा अगाडि बढाएको भन्दै मन्त्री महतले विमानस्थल बन्नेमा आशंका नगर्न आग्रह गरे ।

त्यसैगरि कार्यक्रमा बोल्दै सुनकोशी मरिन डाइभर्सन मधेसको लाइफ लाइन भएकाले त्यसको निर्माण अन्तिम चरणमा पुगिसकेको बताउँदै अर्थमन्त्री महतले सो डाइभर्सनले मधेसको प्रायः सबै जिल्ला सिंचाई हुनेमा आफू आशावादी रहेको बताए ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सांसद श्याम पटेल, पूर्वराष्ट्रियसभाका सदस्य रमेश यादव, जिल्ला सचिव भैयाराम यादवलगायतले आफ्नो विचार व्यक्त गरेका थिए । मन्त्री महतले सोमबार नै सिम्रौनगढमा रहेको छोटी भन्सारको अवलोकन गर्दै चाँडै भन्सार खुलाउनका लागि पहल गर्ने बताएका थिए । उनले स्वर्ण गाउँपालिका कबहीगोठस्थित रहेको सनफुलवा नाकासमेत निरीक्षण गरे ।

प्रतिक्रिया दिनुहोस्