प्रधानमन्त्री प्रचण्डलाई एमालेको ध्यानाकर्षण पत्र

काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएको छ।
अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन्।

एमालेले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको र त्यसलाई सकेसम्म जनमुखी बनाउने बताए।

उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डलले पार्टीले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका माग एकीकृत गरी प्रधानमन्त्री समक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीले बताएको सचिवालयको भनाइ छ।

एमालेको ध्यानाकर्षण पत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको पनि मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषय सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकांक्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षण पत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्