माछापुच्छ्रे बैंकको नाफा घट्यो

काठमाडौं,५ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यस अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.५५ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.६७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.१९ प्रतिशत घटेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ ८६ पैसामा झरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १३।३० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्