राष्ट्रिय गौरवको आयोजनाबाट पूर्व पश्चिम रेलमार्गलाई हटाउनुपर्छः सचिव शर्मा

काठमाडौं, ४ माघ । भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले कालीगण्डकी करिडोरलाई दुईवटा आयोजनामा बाँडेर काम सुरु गरिएको जानकारी दिएका छन् । बिहीबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै सचिव शर्माले हुम्लाको सिमकोटमा सेना र सडक विभागले ट्र्याक खोल्ने काम गरेको भन्दै हिल्सासम्म ट्र्याक खोल्न चिनियाँ सरकारको सहयोग लिएको बताए ।

‘कालीगण्डकीमा बेनीदेखि माथि पहिरो जाने समस्या छ । कतै कडा चट्टान र अहिले जाडो मौसमका कारण कामको प्रगति न्यून छ’, उनले भने, ‘यो वर्षको बजेट ३७ अर्बले घटेर आयो, कन्ट्रयाक्टरहरु हिँड्न थालिसके ।’

कर्णाली करिडोरमा सुरुमा ट्र्याक खोल्ने र यसका लागि ५५ करोड बजेट आएको भन्दै हुलाकी राजमार्गमा २५० पुल बनाउनु पर्ने र ११ सय ६८ किमी बाटो बनिसकेको बताए । उनले चितवन र नवलपरासी बीचमा निकुञ्जले पुल बनाउन नदिएको तथा कपिलवस्तुमा पनि निकुञ्जका कारण काम रोकिएको जानकारी दिए ।

पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाई हाल्नुपर्ने अवस्था रहेको भन्दै उनले बजेट सुनिश्चितता नगरी नहुने आयोजनामा सरकारको प्राथमिकतामा नदेखिको बताए ।

प्रतिक्रिया दिनुहोस्