बैंकको ब्याज घटेपछि शेयर बजारमा रौनक, नेप्सेमा २ वर्षयताकै उच्च कारोबार
काठमाडौं,२ माघ । सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ । मंगलबार ८ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भएको हो । बैंकको घट्दो ब्याजदरले नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो ।
नेप्से ५४।५४ अंकले बढेर २१७५।१७ विन्दुमा पुगेको छ । १३ वटै उपसमूहले नेप्से बढाएका हुन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ । यो उपसमूहको सूचक ४।७५ प्रतिशतले बढेको हो ।
यस्तै, लगानी, लघुवित्त र जलविद्युत उपसमूहको सूचक ३ प्रतिशतभन्दा बढी उकालो लागेको छ । बैंक, विकास बैंक, व्यापार, उत्पादनमूलक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशत भन्दा धेरै उकालो लागेको छ ।
बजार खुलेदेखि नै नेप्से उकालो लागेको थियो । आज २१४ कम्पनीको सेयर मूल्य बढेकामा एक दर्जभन्दा बढी कम्पनीको मूल्य सर्किट लागेर उकालो लागेको छ ।
त्यसगरि आज कारोबारको हिसावले सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । यो कम्पनीको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
नेप्से सूचक र कारोबार रकममा वृद्धिलाई विश्लेषकहरुले लगानीकर्तामा कन्फिडेन्स बढेको रुपमा लिएका छन् । यसको प्रमुख कारण बैंकले ब्याजदर घटाएपछि लगानीकर्तामा कन्फिडेन्स बढ्नु हो ।
‘बैंकको ब्याजदर घट्दै गएको हुनाले बजारमा यो खालको कन्फिडेन्स देखिएको हो । नेप्से १९०० विन्दुतिर हुँदा बजारमा प्रवेश गरेकाहरु एक खालको नाफा बुक गरेर फेरि सक्रिय छन् । सेयर धितो कर्जामार्फत पनि बजारमा पैसा आइरहेको छ । लगानीकर्ता बाइङ मुडमा देखिन्छन्। जसले गर्दा बजारमा यो किसिमको सुधार देखिएको हो ।
‘बैंकमा अत्यधिक तरलता छ, ब्याजदर क्रमिकरुपमा घटिरहेको क्रममा छ । बेस रेट घटिरहेको छ । यसले गर्दा पनि सेयर बजारमा कारोबार बढेको हो । लगानी गर्ने अन्य क्षेत्र अहिले सुस्ताएका छन्। धेरै क्षेत्रमा ऋणको माग छैन । अर्कातिर सेयर धितोमा कर्जामार्फत बजारमा पैसा आइरहेको छ । त्यसैले बजारमा आज उछाल देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्