एनआइबीएल म्युचुअल फन्डले ल्यायो ‘स्टेबल फण्ड’

काठमाडौं,२ माघ । एनआइबीएल स्टेबल फण्डको सार्वजनिक निष्कासन आज मंगलबारदेखि खुला भएको छ । एनआइबीएल स्टेबल फण्डमा इकाईका लागि आवेदन खुला भएको एनआइएमबी एस क्यापिटलले जनाएको हो ।

यो योजनाको आकार १ अर्ब रुपैयाँको छ । १२ वर्षमा परिपक्क हुने यो योजना मुलुकमा सञ्चालितमध्ये सम्भवतः हालसम्मकै लामो अवधिको बन्दमुखी योजना समेत हो । एनआइबीएल म्युचुअल फण्ड अन्तर्गतको यो छैटौं योजना हो ।

यस योजनाको अवधिभर इकाईधनीलाई वार्षिक प्रतिफल १६.१८ प्रतिशत दिन सक्ने प्रक्षेपणसमेत गरेको छ ।

योजनाको कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड छ । योजना व्यवस्थापक तथा डिपोजिटरीमा एनआइएमबी एस क्यापिटल छ । यो योजनामा मंगलबारदेखि छिटोमा आगामी शुक्रबार अर्थात् माघ ५ गतेसम्म आवेदन खुला रहने जनाइएको छ । यो अवधिभित्र लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे अवधि माघ १६ गतेसम्म थप हुनेछ ।

इच्छुक व्यक्ति तथा संस्थाले यस योजनाका इकाइहरु खरिदका लागि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १०० कित्ता र अधिकतम १ करोड कित्तासम्मका लागि आवेदन दिन सकिने छ । एनआइबीएल स्टेबल फण्ड को प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बीज पुँजीवापत १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड तथा १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका लागि गरी कुल निष्कासन गरिने इकाईको जम्मा १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई सुरक्षित राखिएको छ ।

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईको मंगलबारदेखि सार्वजनिक रुपमा निष्कासन तथा बिक्री खुल्ला गरिएको हो । योजनाको इकाई खरिदका लागि धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु साथै मेरो शेयर एपमार्फत आवेदन दिन सकिने जनाइएको छ ।

यस योजनाका इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपश्चात दोस्रो बजारमा खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्