माल्दिभ्स सरकारले तोक्यो भारतीय सैनिक फिर्ता हुनुपर्ने समयसिमा

काठमाडौं,१ माघ । माल्दिभ्स सरकारले भारतीय सैनिक फिर्ता हुनुपर्ने समयसिमा तोकेको छ ।

माल्दिभ्सको मोहम्मद मुइज्जु सरकारले आफ्नो देशमा रहेका भारतीय सैनिकलाई देश छाड्न समयसिमा दिएको छ । भारतसँग सम्बन्ध बिग्रिरहेको अवस्थामा माल्दिभ्स सरकारले सन् २०२४ को मार्च १५ सम्ममा भारतीय सैनिकलाई देश छाड्न समय दिएको हो ।

माल्दिभ्सको विदेश मन्त्रालयले दुवै देश भारतीय सैनिक फिर्ता गराउने प्रक्रिया सुरु गर्न तयार भएको जनाएको छ । यद्यपि, भारतको विदेश मन्त्रालयले भने माल्दिभ्सले दिएको समयसिमा बारे केही प्रतिक्रिया दिएको छैन । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने उच्चस्तरीय बैठक भएको र दुई देशबीच आपसी सहयोग बढाउनेबारे चर्चा भएकोमात्र उल्लेख छ ।

लक्षद्विपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि मुइज्जु सरकारका कनिष्ठ तीनमन्त्रीको अभिव्यक्तिलाई लिएर अहिले दुई देशबीच दुरी बढिरहेको छ । भारतीयहरुले माल्दिभ्स भ्रमण रद्द गरेर ‘बायकट माल्दिभ्स’ अभियान संचालन गरिरहेका छन् यस्तो अवस्थामा माल्दिभ्सले भारतीय सैनिकलाई देश छाड्ने ‘अल्टिमेटम’ दिएको हो ।

हाल माल्दिभ्समा ८८ जना भारतीय सैनिक रहेको बताइन्छ । भारतीय सैनिकलाई माल्दिभ्सबाट हटाउने ‘इन्डिया आउट’ नारा लिएर राष्ट्रपति निर्वाचन जितेका मुइज्जु चीन नजिक मानिन्छन् । यसअघिका राष्ट्रपतिहरुले पहिलो भ्रमण अधिकांश समय भारतबाट सुरु गर्ने भए पनि मुइज्ज भने चीन गएर भारतीयको बुझाईमा विवादको बीउ रोपेका थिए ।

चीन गएकै बेला मोदीप्रतिको अभिव्यक्तिले गर्दा उनी विवादित बन्दै आएका थिए । चीनबाट स्वदेश फर्किएपछि उनले भारतको नाम नलिइ देश सानो भयो भन्दैमा कसैले हेप्न नपाउने र नहपिने प्रतिक्रिया दिएका थिए ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्