संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंङगाएर छाड्ने प्रतिवद्धता
काठमाडौँ, पुस २६ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका छन् । अबका आठ–दश दिनसम्म शीर्ष नेताहरुसँग पनि अनौपचारिक छलफल गर्ने र विधेयकलाई टुंगोमा पुर्याइनेछ ।
संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा दफावार छलफल हुँदैछ । बिहीबारको छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी भए ।
संक्रमकालीन न्यायको विषयलाई राजनीतिबाट अलग गरेर हेर्न नसकिने भन्दै उनले सहमतिमै टुंगोमा पुग्ने बताए । र, आजको छलफलबाट विधेयकमा सहमति हुन्छ भन्ने निष्कर्षमा आफू पुगेको उनले बताए ।
‘माननीय सदस्यहरुले भन्नु भएको छ लाज लाग्न थाल्यो । अब लाज लाग्ने अवस्था रहन्न कि जस्तो लाछ,’ मन्त्री गुरुङले थपे, ‘सहमति नभएका विषयमा अझै सहमति खोज्ने नै हो फेरि पनि । यो सहमति हुन्न कि भन्ने होइन, आजको कुराले त सहमति हुन्छ भन्नेमा पुगें म ।’
आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतले धारणा राखेका थिए । बर्तौला र परियारले सहमति नभएका विषयलाई बहुमतबाट भए पनि टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।
मन्त्री गुरुङले आफ्नै पार्टी कांग्रेसका नेता लेखक, एमालेका बर्तौला र रास्वपाका परियारको ‘विद्वान’ र परिपक्क धारणा राख्ने नेता भनेर प्रशंसा गरेका थिए । विद्वान र परिपक्क नेताहरुको धारणा सुन्दा आफूलाई नमिल्ने कुरा केही छैन जस्तो लागेको मन्त्री गुरुङले बताए ।
त्यही क्रममा एमाले नेता बर्तौलाले ‘फकाइ–फकाइ गोल हान्न खोज्दै हुनुहुन्छ’ भनेर ठट्टा गरे ।
अनि मन्त्री गुरुङले भने, ‘अन्तिमसम्म प्रयास गरौं । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’
कुनै विषयमा सहमति नभएमा बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने विषयमा आज सर्वसहमति भएको भन्दै मन्त्री गुरुङले यो विधेयक अब टुंगोमा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्