शेख हसिनाको पार्टीलाई बहुमत
काठमाडौं, २३ पुस । प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले बंगलादेशको संसदीय निर्वाचनमा जित हासिल गरेको छ ।
प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।
३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले भने यो निर्वाचन देखावटीमात्र भएको भन्दै बहिस्कार गरेको थियो ।
निर्वाचन आयोगका प्रवक्ताले ३०० मध्ये २९९ सिटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र अहिलेसम्मको परिणामको आधारमा अवामी लिगको सरकार बन्ने निश्चित भएको बताएका छन् । उनका अनुसार चुनावको अन्तिम परिणाम घोषणा हुन भने केही समय लाग्ने छ ।
शेख हसिनाले गोपालगञ्ज–३ बाट शानदार जित हासिल गरेकी छन् । उनले २ लाख ४९ हजार ९६५ भोट पाएकी छन् । उनको निकटतम प्रतिस्पर्धी बंगलादेश सुप्रिम पार्टीका एम निजाम उद्दीनले ४६९ भोट मात्र पाएका छन् । शेख हसिनाले गोपालगञ्जबाट सन् १९८६ देखि आठ पटकसम्म चुनाव जित्दै आएकी छन् ।
बंगलादेशको सत्तामा शेख हसिना सन् २००९ देखि नै छिन् । उनले यसपटक प्रमुख प्रतिपक्षी दल बीएनपीले बहिस्कार गरेपछि उनको पार्टी अवामी लिगएकलौटी जित हात पारेको छ । प्रधानमन्त्रीको रुपमा उनको यो अहिलेसम्मको पाँचौ कार्यकाल हुने छ ।
प्रतिक्रिया दिनुहोस्