कांग्रेसले राष्ट्रिय सभाको सदस्यको लागि उम्मेदवार चयनको टुंगो लगायो, को को परे त उम्मेदवारमा ?

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसले राष्ट्रिय सभाको सदस्यको लागि उम्मेदवार चयन गरेको छ।

सोमबार बिहान बसेको नेपाली काँग्रेसको बैठकले राष्ट्रिय सभाको सदस्यको लागि कांग्रेसले १० उम्मेदवार छानेको हो।

कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार नै सहमति बनेको थियो। पूर्वमहामन्त्री रहेका सिटौला यसअघि दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए। कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी यसपालि चुनावी मैदानमा उतारेको छ।

मधेसमा आनन्द ढुंगाना उम्मेदवार भएका छन्। उनी केन्द्रीय सदस्य तथा अनुशासन समिति संयोजक हुन्। उनी संस्थापन पक्षका हुन्।

बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए। पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् भने बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल तरूण दलका पूर्वअध्यक्ष हुन्। पुडासैनी संस्थापनइतर र बस्नेत संस्थापन पक्षका हुन्।

गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार उम्मेदवार भएका छन्। गोरखाका श्रेष्ठ गण्डकी कांग्रेस महामन्त्री हुन्। उनी संस्थापनइतर पक्षका हुन्। परियार तनहुँका हुन्।

लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ। उनी संस्थापनइतर पक्षकी हुन्। कर्णालीमा कृष्णबहादुर रोकाया उम्मेदवार भएका छन्। उनी कर्णाली कांग्रेस महामन्त्री हुन्। रोकाया संस्थापन पक्षका हुन्।

सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको छ। भट्ट कांग्रेस कैलाली सभापति हुन्। बोहरा कांग्रेस कञ्चनपुरका पूर्वसभापति हुन्। उनीहरू दुवै संस्थापन पक्षका हुन्।

यो निर्णयमा महामन्त्री गगनकुमार थापाले लिखित फरक मत राखेका छन्।

केन्द्रीय कार्यसमितिको पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनेु गरी मापदण्ड तय गरे पनि लागू नभएकोमा थापाले दुई बुँदे फरक मत राखेका हुन्।

ुसंसदीय बोर्डको आजको बैठकले उम्मेदवार चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन,ु थापाले बैठकमा राखेको लिखित फरक मतमा उल्लेख छ, ुयस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ।ु

पार्टीभित्र बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने महामन्त्री थापाले बताएका छन्। तर यस्ता निर्णयले पार्टीमा कुनै आग्रह नराखीकन निर्णय हुन्छ र सबैलाई न्याय तथा अवसर मिल्छ भन्ने विश्वासलाई पुनस् खण्डित गरेको थापाको भनाइ छ।

सभापति शेरबहादुर देउवासहित शीर्ष नेता उम्मेदवार छान्न रातभर सानेपास्थित केन्द्रीय कार्यालय बसेका थिए।

नेता शेखर कोइरालासहित संस्थापनइतर पक्षले १० मध्ये चार सिटको अडान राखेपछि रातभर सहमति हुन सकेको थिएन।

माघ ११ मा हुने चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेको हो। १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबन्डा गरेर उम्मेदवारी दिने सहमति भएको थियो।

कार्यसम्पादनमा अर्जुननरसिंह र बलबहादुरको फरक मत: 

कार्यसम्पादन समिति बैठकमा दुई नेताले उम्मेदवार छनोट विषयलाई लिएर लिखित फरक मत राखेका छन्। नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीले उम्मेदवार छनोट न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘मधेसमा मधेसले नै प्रतिनिधित्व गर्न पाउनुपर्छ भन्ने उहाँहरूको माग हो, एक नेताले भने, ‘मन्त्री पाउँदा रमेश रिजाल, राष्ट्रिय सभामा आनन्द ढुंगानारु मधेसमा उनीहरूको ठाउँ खोसियो।’

प्रतिक्रिया दिनुहोस्