पानी दे सरकार भन्दै प्रदर्शन

काठमाडौं, २० पुस। आज पाटन दरबार क्षेत्रमा मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर एक महिनादेखि नै नियमित जसो प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौं उपत्यकाका फरक फरक ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरुले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उपभोक्ताहरु रित्ता गाग्रीसहित विभिन्न नारा लेखिएका पोस्टर र प्लेकार्ड बोकेर नै प्रदर्शनमा सहभागी भएका थिए ।

मेलम्ची राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले आयोजना पूरा नगरेका कारण आन्दोलनमा उत्रिनु परेको गर्ने संघर्ष समितिले बताएको छ ।

मनसुन सुरु हुनुअघि मेलम्चीको सुरङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको छैन । जसले गर्दा काठमाडौंमा उपभोक्ताहरु पिउने पानीको समस्यामा छन् ।

सरकारले माघको पहिलो सातातिर मेलम्चीको पानी काठमाडौं ल्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्