सत्ता गठबन्धनमा आँच नआउने गरी प्रतिपक्षसँग उदारता प्रदर्शन हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १९ पुस । प्रतिपक्ष नेकपा एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म नभएको उदारता प्रदर्शन गरिएको बताएका छन्।

सत्ता गठबन्धनमा आँच जआउन गरी प्रमुख प्रतिपक्षी एमालेलाई उदारता प्रदर्शन गर्ने दाहालले बताए ।

‘यो गठबन्धन पूरै अवधि जान्छ। यसमा कतै इफ, बटु नसोच्नुहोला । कुनै आशंका गर्न जरूरी छैन।’ बिहीबार रामेछापको सुनापति गाउँपालिकाको भवन उद्घाटनको क्रममा दाहालले यस्तो बताएका हुन् ।

उनले सदन सुचारू गर्न र शान्ति प्रक्रियाका बाँकी काम सहज रूपले अघि बढाउन सत्तापक्ष र प्रतिपक्षका बीचमा हुन सक्ने जति समझदारी होस् भनेर चाहेको बताए।

‘केही महिनाअघि संघीय संसदमा समिति गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समिति सभापति दिने परम्परा थियो। लेखा समिति। जो प्रतिपक्षमा हुन्छ त्यसले लेखा समिति सभापति हुन्छ । तर हामीले सदन सुचारू गर्न सजिलो होस् र विधेयक अघि बढाउन सहज होस् भन्नाका लागि यो पटक लेखासहित तीन समिति सभापति नेकपा एमालेलाई दियौं।’

उनले यस्ता निर्णयले गठबन्धनमा कुनै आँच नआउने पनि बताए। ‘कहीँ कतै के होला भनेर सोच्न आवश्यक छैन। यो गठबन्धन सानो दुस्ख र संघर्षले बनेको गठबन्धन होइन,’ उनले भने, ‘संविधान रक्षाका लागि सदन र सडक सबै क्षेत्रबाट संघर्ष गर्दै हामी आएको हो।’

उनले अहिले केही मानिसहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाइरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्