भारतीय विदेश मन्त्री जयशंकरको नेपाल बसाईको क्रममा यस्ता छन् कार्यक्रमको कार्यतालिका

काठमाडौं, १९ पुस। भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ अवतरण गरे लगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।
त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

साँझ ६ः१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री, जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । त्यसपछि उनले त्यहाँ पुनः निर्माणका कामहरू हेर्ने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै विदेशमन्त्री जयशंकर मध्यान्ह १२ बजे भारत फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्