भारतीय विदेश मन्त्री र उच्चस्तरीय चिनियाँ टोली एकैचोटी नेपाल आउँदै

काठमाडौं, १७ पुस । भारतीय विदेश मन्त्री जयशंकर पुस १९ गते बिहान १० बजे नेपाल आउदै छन् । सोही दिन नै चीनबाट एउटा उच्च स्तरीय टोली नेपाल आउने भएको छ ।

चीनबाट पनि त्यही दिन युनान प्रान्तको चिनियाँ कम्युनिस्ट पार्टीका उपमहासचिव साइ युगाङको नेतृत्वमा टोली नेपाल आउन लागेको स्रोतले जनाएको छ । चीनको युनान राज्यबाट आउन लागेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायतसँग छलफल गर्ने तय भएको स्रोतले जनाएको छ । उनीहरूको भ्रमण पुस १९ गतेदेखि २१ गतेसम्म हुने बताइएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउदै छन् र पुस १९ गते आएर २० गते नै फर्किने कार्यक्रम रहेको पाइएको छ ।

उनको साथमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीलागायतका प्रतिनिधि आउने बताइएको छ । मन्त्री जयशंकरले पनि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्