अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन–२०१८ लुम्बिनीमा भव्यताकासाथ हुने

काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औं बुद्ध जयन्ती बैशाख १५ देखि १७ गतेसम्म भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भव्यताकासाथ आयोजन हुने भएकोछ ।

लुम्बिनी विकास कोषको आयोजनामा विश्व शान्तिका प्रवर्तक भगवान शाक्यमुनि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीका साथै विश्व शान्ति र निर्वाण प्रदान गर्ने भगवान बुद्धको अमृतमय शिक्षालाई भगवानकै पावन जन्मस्थलबाट नेपाल सरकार स्तरबाटै सघन रुपमा प्रचार प्रसार गरी सम्पूर्ण जगतको कल्याण र सद्भाव बढाउने हेतुले यो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको हो ।

सो सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्नेछ, भने २५६२औं बुद्ध जयन्ती मूल समारोह सम्माननीय राष्ट्रपतिबाट हुने कुरा लुम्विनी विकास कोषका कार्यक्रम निर्देशक ज्ञानीन राईले जानकारी दिए ।
विगतका वर्षमा झै यस वर्ष पनि २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको मुल नारा “Lumbini, Nepal–The Birth place of Lord Buddha and the Fountain of Buddhism & World Peace” रहेको छ । यस नारालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, बृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट केन्द्रका रूपमा विकास एवं प्रबद्र्धन गर्ने, लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्र स्थापना गर्ने मुख्य लक्ष्य रहेका छ ।
यस सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ५६२ सदस्सीय मूल समारोह समिति समेत गठन गरिएको कोषले जनाएको छ ।

सम्मेलनमा भाग लिनका लागि भारत, चीन, जापान, म्यानमार, थाइल्याण्ड, भुटान, कम्वोडिया, भियटनाम, दक्षिण कोरिया, श्रीलंका, पाकिस्तान, वंगलादेश, मंगोलिया, अफगानिस्तान लगायत २३ देशका राष्ट्रिय स्तरका बौद्ध संघ संस्थालाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत निमन्त्रणा पठाईएकोमा २१ देशले सम्मेलनमा सहभागिता जनाउने जानकारी प्राप्त भएको कोषका कार्यक्रम निर्देशक राईले जागरण न्युजलाई बताए ।

सो सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बौद्ध धर्म, बौद्ध दर्शन, संस्कृति र सम्पदा सम्बन्धी प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरु बाट १३ वटा उप–सारमा कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्मेलनपछि प्रस्तुत कार्यपत्रहरुको निश्कर्षको रुपमा लुम्बिनी सम्मेलन –२०१८ घोषणा पत्र जारी गरी कार्यक्रम समापन हुनेछ ।

त्यसैगरी २०७५ वैशाख १७ गते पूर्णिमाको दिन बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा देशविदेशका विशिष्ट व्यक्तित्वहरु, प्राज्ञहरु तथा स्थानीय नागरिकहरुको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्परा अनुसार विभिन्न धार्मिक अनुष्ठान सहित धुमधामका साथ बुद्ध जयन्ती मनाउने कार्यक्रम रहेको छ ।

यसका लागि नेपाल सरकारले १५ मुलुकका संस्कृति एवम् धार्मिक मामिला मन्त्रीहरु, २३ मुलुकका राष्ट्रिय बौद्ध संघ÷सस्थाहरु, उच्च पदस्थ प्रतिनिधिहरु, विदेशमा रहेका प्रतिष्ठित/प्राज्ञिक प्रतिष्ठानहरु, बौद्ध गुम्बा, बौद्ध संघ संस्थाका रिम्पोछे, बौद्ध गुरु, भिक्षु भिक्षुणीहरुलाई सहभागीताको निम्ति आमन्त्रण गरेको छ । साथै सम्मेलनलाई भव्यतापूर्वक सफल बनाउने उद्देश्यले लुम्बिनी विकास कोषका उपाध्यक्षको संयोजकत्वमा गठित व्यबस्थापन समिति अन्तर्गत विभिन्न विषयगत १७ वटा उपसमितिहरु गठन भई क्रियाशील रुपमा कार्य गरिरहेको अवस्था छ ।

कोषको सम्पर्क कार्यालय बबरमहल काठमाडौंमा २५६२ औ बुद्धजयन्ती समारोह तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको सचिवालय स्थापना गरी सम्पूर्ण तयारी भईरहेका कार्यक्रम निर्देशक राईले बताए । उनले लुम्बिनी विश्व सम्पदा क्षेत्रमा व्यापक रुपमा सरसफाईका कार्यक्रमहरु शुरु भईरहेको, अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्ध जयन्तीको मुल समारोहको लागि सभाहल द्रुत गतिमा निर्माण भईरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्