लोकतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र: सभापति देउवा

काठमाडौं, पुस १६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिनुभयो । उहाँले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

‘‘बिपी कोइरालाले ल्याएको नीतिको मेलमिलाप र एकतामा प्रभाव छ । अहिले हाम्रो देशमा यसको आवश्यकता अझै बढेको छ । अनेक किसिमका बहाना खोज्नेहरु लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । यसको विकल्प छैन । लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो । कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’’

सभापति देउवाले एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘अब अहिलेको बेलामा अत्यन्तै आवश्यकता छ । सानो देश हो यो । हाम्रो देशमा आफ्ना मतभेदहरु, पार्टीगत वैचारिक मतभेद, पार्टीका प्रतिस्पर्धाहरुदेखि लिएर हाम्रा आफ्ना कुरा छन् । नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, सायद धेरै कम छन्, मान्छे छक्क पर्छन् । एउटा पार्टीको कार्यक्रममा अरु नेता आएको देख्दा विदेशबाट आउने मानिसहरु छक्क परेका हुन्छन् । प्रतिस्पर्धाका बाबजुत एकअर्काप्रति कडा प्रतिस्पर्धा हुन्छ, त्यसका बाबजुत पनि बोलीचाली, मेलमिलापको वातावरण छ, यो धेरै कम देशमा छ ।’’ सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्