बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो छैनः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो नभएको बताएका छन् ।
मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटना पूर्वानुमान गर्नसक्ने खालको नभएको बताए । पूर्वनिर्धारित कार्यक्रममा दोलखा पुगेर फर्किने क्रममा थाहा पाएको र भोलिपल्ट ब्रिफिङ लिएपछि आफूलाई उक्त घटना केही गम्भीर लागेको उनले सुनाए ।
‘दुई जना युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने जस्तो गतिविधि भएको छ’ उनले भने, ‘चिज यस्तो छैन, जस्तो देखिएको छ । यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु ।’
आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए । त्यही कारण तुरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्