बालकुमारीमा गोली लागेर मृत्यु हुनेमा २३ वर्षीय युवा

काठमाडौँ, १३ पुुस। ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुनेमा २३ वर्षीय युवा भएको खुलेको छ । ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २३ वर्षको रहेको बताए । २३ वर्षीय युवा कर्णाली प्रदेशका सुजन राउत भएको उनको भनाइ छ ।

‘मृतक पुरुष २३ वर्षका रहेका छन् । छातीमा रातो डाम देखिएको छ’, उनले भने, ‘अस्पतालमा ल्याइपुर्‍याउनेको भनाइ अनुसार झडपमै परेको भन्ने छ ।’ आन्दोलनकारीहरूले नै उनलाई बोकेर अस्पताल ल्याएका थिए ।

पाठकका अनुसार घाइतेलाई १२ बजेर ४० मिनेटमा किष्टमा ल्याइएको थियो । उनलाई चिकित्सकहरूले दिउँसो १ बजेर १७ मिनेटमा मृत घोषणा गरेका थिए ।

उनलाई शुक्रवार दिउँसो बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको बताइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्