संघीय सरकारको केन्द्रीकृत मानसिकतालाई तोड्न सातै प्रदेशका मुख्यमन्त्री एकै ठाउँमा भएको हो: मुख्यमन्त्र कार्की

काठमाडौं, १३ पुस । सातै प्रदेशका मुख्यमन्त्रीहरु बागमती प्रदेशेको राजधानी हेटौंडामा भेला भएका छन् । प्रदेश सरकारको अधिकार  प्रत्यायोजनका लागि संघीय सरकारलाई दवाव दिन सातै प्रदेशका मुख्य मन्त्रीहरु हेटौंडामा भेला भएका हुन ।
यसै सिलसिलामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको बताएका छन् । प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटना क्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

शुक्रबार हेटौँडामा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकारका विषयमा दबाब दिन हेटौँडामा छलफल भइरहेको र सो छलफलले सङ्घीय सरकार र सांसदलाई दबाबमूलक सन्देश प्रवाह हुने बताए । सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारहरूले एकजुट भएर फरक शैलीबाट अघि बढ्ने उनको भनाई छ ।

‘सङ्घीयता कार्यान्वयनमा अझै सङ्घीय सरकार र प्रतिनिधिसभा संसदमा केन्द्रीकृत मानसिकता हाबी भइरहेको छ । कोशी प्रदेशले केही हदसम्म त्यसलाई दबाब दिने र अधिकार लिने काम भएको छ ।’ उनले भने, ‘हेटौँडामा भइरहेको तहगत अधिकारको कार्य विस्तृतीकरणले फरक शैलीबाट अघि बढ्ने निर्णय गर्छ । जसले सङ्घीय सरकार र सुतिरहेको प्रतिनिधिसभालाई दबाब दिएर अधिकार विकेन्द्रीकरणका लागि घचघच्याउने काम गर्नेछ ।’

सङ्घीय संसदमा प्रतिनिधि बनेकाहरूले समयमा नै साझा अधिकारका सूचिका कानुनहरू निर्माण नगर्दा र अधिकार प्रत्यायोजन नगर्दा सङ्घीयता कार्यान्वयनमा थप समस्या परेको उनको भनाई छ । सङ्घीय सांसदहरूमा नै केन्द्रीकृत शासन व्यवस्था प्रतिको मानसिकता कायम रहेकाले सङ्घीयताको मर्म अनुसार संसदमा अधिकार प्रत्यायोजनका लागि आवश्यककानून निर्माणको पहलकदमी हुन नसकेको उनले दाबी गरे ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा मध्यावदी निर्वाचनको सम्भावना नरहेको समेत बताए । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए । छिट्टै नै प्रदेशमा रहेका दलहरुको सहमतीमा कोशी प्रदेश सरकारले पूर्णता पाउने उनले बताए । सो विषयको बारेमा केही समय अघि जारी भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा दलहरुले दिएको समर्थनले पुष्टि गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्