कांग्रेसले पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै

काठमाडौं , १२ पुस । नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपि कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै २०३३ साल पुस १६ गते स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो ।

कांग्रेसले आगामी सोमबार काठमाडौंको प्रज्ञाभवनमा हुने कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरुबिच मेलमिलाप भन्ने नारा बनाएको हो ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ु२०३३ पुस १६ मा बिपी राष्ट्र र राष्ट्रियताका लागि राजासँगै मिलेर काम गर्छु भनेर आउनु भयो । सोही दिन हामीले संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउनका लागि दलहरुका बिचमा मेलमिलाप गर्ने उद्देश्यक राखेका छौं ।ु

पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम हुने तय भएको विश्वकर्माले बताए । कार्यक्रममा वक्ताका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर रहेछन् ।

विस्तृत शान्ति सम्झौता र संविधान कार्यान्वयनका पक्षधर दलका बिचमा अहिले मेलमिलाप आवश्यक रहेको कांग्रेसको निष्कर्ष रहेको विश्वकर्माले बताए । बुधबार कांग्रेस सभापति देउवाले पाँच दलका अध्यक्षलाई फोन गरेर अनौपचारिक निम्तो दिसकेका छन् । आज कांग्रेसले उनीहरुलाई कार्यक्रममा आमन्त्रणका लागि औपचारिक रुपमा पत्र नै पठाउँदै छ ।

विश्वशर्माले भने, ुहिजो फोनमार्फत सभापतिज्यूले निम्तो दिनु भएको छ । आज पार्टीले औपचारिक रुपमा पत्र ठाउँछ ।ु यसअघि कांग्रेसले मेलमिलाप दिवस आन्तरिक रुपमा मात्र गर्दै आएका थियो । गत वर्ष देशभर केन्द्रीय प्रतिनिधि खटाइए हरेक जिल्लामा दिवस मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्