राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दै
काठमाडौं, १० पुस। राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्ने छ ।
पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकमा यही पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक, पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठक र पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने छ ।
जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्