पिएफए वर्षको उत्कृष्ट खेलाडीको उपाधि लिभरपुलका मोहम्मद सालाहलाई

लण्डन (एजेन्सी) । प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७/१८ को लिभरपुलका मोहम्मद सालाहले उपाधि जितेका छन्।

इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी केन, सिटीका लेरोई साने, डेभिड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेभिड डेह्यालाई पछि पार्दै उक्त उपाधि जित्न सफल भएका हुन् ।

म्यानचेस्टर सिटीका सानेले वर्षको उत्कृष्ट यूवा खेलाडीको उपाधि जिते । त्यस्तै चेल्सीकी फ्रान किर्बी वर्षको उत्कृष्ट महिला खेलाडी तथा ब्रिस्टोल सिटीकी लौरेल हेम्प उत्कृष्ट महिला यूवा खेलाडी छानिए।

उक्त उपाधि पाएपछि सालाहले भने, “खेलाडीहरुको मतबाट छानिने भएकाले यस उपाधि पाउँदा म धेरै खुशी छु”, उनले थपे, “मैले चेल्सीमा अवसर पाइन तर मैले फर्किएर आफ्नो कौशलता देखाउनेमा म विश्वस्त थिए।”
सालाहले प्रिमियर लिगमा ३३ खेल खेल्दै ३१ गोल गरेका छन् भने लिभरपुलका लागि सबै प्रतियोगितामा गरेर ४६ खेलमा ४१ गोल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्