मन्त्री किरातीद्वारा क्रिसमस फेस्टिभलमा विवादित अभिव्यक्ति

काठमाडौं, ५ पुस । क्रिसमस फेस्टिभलमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री आउन कार्यक्रम भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण आफू आएको बताए । उनले प्रधानमन्त्रीको तर्फबाट शुभकामना दिए । प्रधानमन्त्री नआएकामा सानो मन नगरिदिन उनको तर्फबाट सन्देश दिए ।

उनले धर्मनिरपेक्षतालाई व्याख्या गर्दै राज्य सबै संस्कृतिहरुको अभिभावक भएकाले कोही त्रासमा नबाँच्न आह्वान गरे ।

‘लोकतान्त्रिक गणतन्त्रमा पनि डरत्रास छ कि ? हामी कसैले डराउनुपर्ने स्थिति छैन । संविधानले दिएको अधिकारको प्रयोगमा हामी बाँचेका छौं । टुँडिखेलमा गएर सबैले सुन्नेगरी हामी पनि यही देशका फूल हौं भन्नुहोला’, किरातीले भने, ‘राज्य छ तपाईंहरुको अभिभावक । कोही डराउनुपर्दैन ।’

संविधानमै नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश भनेर लेखिएको हुनाले कसैको डरत्रासमा नबस्न आग्रह गरे ।

‘कसैको दायामायाले होइन, हजारौं शहीदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरु एकथरि फूल हो । तपाईंहरुविना बगैंचाको शोभा हुँदैन,’ उनले भने, ‘तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो ।’

दर्शकदीर्घामा क्रिश्चियनहरुको तालीमा देखिएको समर्थन माहोल देखेपछि मन्त्री किरातीले भने, ‘विश्वमा ८५ प्रतिशतले धर्म मान्छन्, १५ प्रतिशतले धर्म मान्दैनन् । धर्म मान्नेहरुको कुल संख्यामध्ये ३० प्रतिशतले क्रिश्चियन मान्छ । यो संसारकै ठूलो धर्म हो ।’

उनले क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टलाई नेपालका प्रधानमन्त्री प्रचण्डसँग तुलना गरे । दुवैजना आआफ्नो समयका क्रान्तिकारी प्रश्नकर्ताहरु भएको दाबी किरातीले गरे । मन्त्री किरातीले भने, ‘यो बेला संसारमा क्राइस्ट भएको भए उहाँ प्रचण्डजस्तै हुनुहुन्थ्यो । म उहाँहरुलाई बराबरजस्तै देख्छु । आज प्रचण्ड यहाँ आएको भए क्राइस्ट आएजस्तै हुन्थ्यो ।’

तालीको अटुट क्रम चलिरह्यो । क्रिश्चियनको चाडपर्वमा शुभकामना आदानप्रदान गर्ने क्रममा मन्त्री किराती भावनात्मक बने ।

‘पहिलेको समयमा भए क्रिश्चियनलाई भेटे खैनी माडेजस्तै माड्थे, अहिले पनि हामी अग्रगामीहरु कमजोर भयौं भने खान्छन् टेकेर,’ किरातीले भने, ‘क्रिसमसमा आधा बिदा किन भन्ने प्रश्न छ । नहुनु भन्दा कानो मामा निको । हामी कमजोर भयौं भने नेपालमै बस्न नपाइने अवस्था पनि आउन सक्छ ।’

मन्त्री किरातीले अर्को प्रस्ताव राखे, ‘कि अरु धर्मको चाडको पनि बिदा काट्नुपर्छ, कि यसको (क्रिसमसको) पनि पूरै दिनुपर्छ । कि सबैको काट्ने, कि यसको बिदा पनि पूरा दिने ।’

भाषा वाङ्मयमा रुचि राख्ने किरातीले आफ्ना भाषामा भावनात्मक शब्दहरु पनि घुसाउँदै गए, ‘क्राइस्टलाई साक्षी राखेर, मैले बालेको बत्तीलाई साक्षी राखेर म प्रधानमन्त्रीलाई आजै (बिदा घोषणाबारे) भन्छु । मेरो तर्फबाट पनि उठाइरहन्छु ।’

आफू धर्म नमान्ने व्यक्ति भन्दै उनले धार्मिक आस्था र राजनीतिलाई पनि मिसमास गरे । उनले नेपालमा माओवादीले गरेको सशस्त्र युद्ध र जिसस क्राइस्टको धार्मिक आह्वानलाई तुलना गरे ।

‘नेपालमा हामीले जनयुद्ध गर्दा सत्रहजार मानिसहरु जिससजस्तै झुन्डिए, झुन्ड्याइए’, किरातीले भने, ‘आजको धर्मनिरपेक्ष संविधान त्यसै अनुसार आएको हो । रगतले साटेर परिवर्तन आएको हो । यसलाई दुई चार हाप्सिला (फ्याउरा) कराउँदैमा हटाउन सकिँदैन ।’

किरातीले केही रचनात्मक प्रस्ताव पनि गरे । जस्तो कि मध्यपहाडी लोकमार्ग वरिपरि एउटा सांस्कृतिक महारेखा कोर्ने, जहाँ सबै संस्कृति र धर्मका मानिस आपसलाई भेट्न सकुन् । इलामको माइपोखरीदेखि खोटाङको हलेसी, पशुपतिनाथमा विभिन्न धर्म संस्कृतिका मान्छेहरु एकै ठाउँमा आस्था व्यक्त गर्न आउने नेपालको विविधता उदाहरणीय रहेको कुरा उठाए ।

मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अरु राजनीतिक दलका नेता कार्यकर्ताले प्रतिक्रिया जनाएका छन् । रास्वपा सभापति रवि लामिछानेले मन्त्री किरातीले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणी गर्दै राजीनामा मागेका छन् । उनले लेखेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ ।’

राप्रपा महामन्त्री धवलशमशेर राणाले पनि मन्त्री किरातीले क्रिश्चियनको विरोध गरे हत्कडी लगाउनुपर्छ भनेर दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । ‘ तपाईंजस्तो पदमा बसेको मन्त्रीले क्रिश्चियनको विरोध गरेकोमा जेल जानुपर्छ भनेको कुरा गलत हो । द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो’, बिहीबार मन्त्री किराती पनि सहभागी संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राणाले भने ।

प्रतिक्रिया दिनुहोस्