काठमाडौंमा चिसो ह्वात्तै बढ्यो, सबैलाई सचेत हुन आग्रह

काठमाडौं, ४ पुस । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले भने, ‘गएरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको हकमा यो यस वर्षको अहिलेसम्मकै कम रेकर्ड हो ।’

काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको उनले बताए । ‘देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ ।

मौसमविद अधिकारीका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य अवस्थामै रहने सम्भावना छ । मध्य र पश्चिम तराईका एक–दुई स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै त्यो बिस्तारै हट्दै जाने छ ।

काठमाडौंमा पनि हल्का हुस्सु लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा भिजिबिलिटी चार किलोमिटरसम्म छ ।

प्रतिक्रिया दिनुहोस्