एनसेलको सेयर खरिदबिक्री अस्वाभाविक छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री प्रचण्डले राज्य व्यवस्था समितिको बैठकमा सो कुरा बताएका हुन् ।
ऐनसेलको शेयर खरिदबिक्री भएको खबर जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला आफुले सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मन्त्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए ।
यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेरै छानबिन समिति समेत बनाएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
‘जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो,’ उनले भने, ‘यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’
एनसेलबारे अध्ययन गर्न गत मंसिर २१ गतेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । ५ सदस्यीय अध्ययन तथा छानविन समितिले एक महिनाको कार्यावधि पाएको छ ।
यसमा कहिँ कतैबाट कानुन विपरीतको काम भए गरेको पाइएमा कानुन बमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
एनसेलमा ८० प्रतिशत हिस्सा शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो ।
कम्पनी खरिद बिक्रीको निर्णय सार्वजनिक भएपछि यो कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठेको छ । सत्ता गठबन्धन र विपक्षी दलका कतिपय नेताहरुले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा उच्च राजनीतिक नेतृत्वको मिलेमतो हुनसक्ने आशंका गर्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्