आकाशे पुलमा लिफ्ट जोड्ने महानगरको प्रस्तावमा सडक विभागको ल्याङल्याङ

काठमाडौं, २९ मंसिर । चालु आर्थिक वर्ष २०८०।८१ को बजेटमा काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्‍यो । तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा सो योजना अझै अगाडि बढ्न सकेको छैन ।

नयाँ बानेश्वरमा रहेको आकाशे पुलमा लिफ्ट जडान गर्ने प्रस्ताव महानगरले भदौ दोस्रो हप्तातिर विभागसँग गरेको थियो । त्यसपछि तीन महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध पुगेको महानगरको आरोप छ ।

सडक विभागको कारणले काम अगाडि बढाउन नसकिएको महानगरको ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । ‘सडक विभागसँग हामीले लिफ्ट जडानको लागि बारम्बार भनेका थियौं, तर विभागले आफ्नो संरचना भत्काउन नदिने अडान लिएपछि काम अगाडि बढ्न सकेको छैन’, श्रेष्ठले भने ।

महानगरका भनाईमा लिफ्ट जडान गर्न करिब एक करोडको लगानी गरेर वृद्ध, अपाङ्‍गता भएका, गर्भवती महिला र भरिया लक्षित गरेर लिफ्ट जडानको योजना बनाइसकको छ । महानगरको योजना विभागका एक कर्मचारीका अनुसार दैनिक ५ सयभन्दा बढी लक्षित वर्गले प्रयोग गर्न सक्ने गरी आकाशे पुलको दुवैपट्टी लिफ्ट हाल्न लागिएको हो । बानेश्वरको आकाशे पुलमा लिफ्ट राखेर योजना पाइलटिङ गरेपछि महानगरका अन्य मुख्य चोकहरुमा पनि प्रणाली विस्तार गर्ने योजना महानगरको छ । तर, सुरुमै अवरोध झेल्नु परेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठको भनाइ छ ।

शुरुवात यहाँबाट गरेर अन्य स्थानमा पनि विस्तार गर्ने योजना बनाएका थियौं, तर हुन सकेन । अब महानगर आफैंले बनाएको आकाशे पुलहरुमा अध्ययन गर्न थालेका छौं’, श्रेष्ठले भने, ‘महानगरले गर्न लागेको काममा सडक विभागले अड्चन थापेको छ ।’

तर, सडक विभागले लिफ्ट जडान योजना रोक्नेभन्दा पनि त्यसलाई सेवा बाहेक व्यावसायिक प्रयोजनका लागि बनाउन नदिने आफ्नो नीति रहेको बताएको छ ।

सडक विभागका प्रवक्ता समेत रहेका उपमहानिर्देशक रामहरी पोखरेलले लिफ्ट मात्रै जडान गर्ने कुरामा कसैलाई पनि अस्वीकृत नगरेको बताए ।

‘हामीले लिफ्ट जडान गर्न रोक्ने भनेका छैनौं । आकाशे पुलहरुमा लिफट् हाल्ने प्रस्ताव धेरै ठाउँबाट आइरहेको छ । ललितपुर महानगरपालिकाले पनि गरेको छ’, उनले भने, ‘तर हामीले लिफ्ट हाल्दा उक्त सेवा बाहेक अन्य संरचना बनाउन पाइँदैन भनेका हौं ।’

उनले प्रस्तावमा लिफ्ट सहितको सार्वजनिक शौचालय, गार्ड रुम, सटर लगायत संरचना बनाउने भनेपछि विभाग सहमत हुन नसक्ने बताए ।

उनले काठमाडौंमा बानेश्वरको विषयमा लिफ्ट मात्रै राख्ने कुरामा सडक विभाग सकरात्मक रहेको समेत बताए ।

त्यस्तै प्रस्ताव पहिले ‘ललितपुरको एकान्तकुनामा पनि भएको थियो, हामीले स्वीकृति दिएका थिएनौं । अहिले लिफ्ट बाहेकका अन्य संरचना निर्माण गर्न नपाउने सर्तमा अनुमति दिइसकेका छौं’, पोखरेलले भने, ‘बानेश्वरको आकाशे पुलका विषयमा पनि महानगरसँग थप छलफल गर्न सकिन्छ ।’

तर, महानगरले सेवाका लागि मात्रै लिफ्ट जडान गर्ने प्रस्ताव गर्दा पनि विभागबाट अड्चन थाप्ने काम भएको आरोप लगाएको छ ।

‘हामीले डीपीआर सडक विभागसँग छलफल गरेर तयार पारिसकेका छौं, तयारी पनि पुरा छ । तर, सडक विभागले स्वीकृति दिएको छैन’, महानगरको सडक पूर्वाधार सम्बन्धी विभागका एक कर्मचारीले भन्छन्, ‘यहि कारणले मात्रै रोकिएको हो ।’

विभागले महानगरबाट आएको लिफ्ट बाहेक अन्य संरचना नबनाउने गरी आएको प्रस्तावको अध्ययन गरिरहेको जनाएको छ । महानगर स्वीकृति दिन विभागले गरेको आनाकानीले काम नै ठप्प भएको आरोप लगाइरहेको छ ।

महानगरले आकाशे पुलमा लिफ्ट जडानको योजना चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा नै राखेर ल्याएको थियो । बजेटको बुँदा नम्बर १३२ मा महानगर प्रहरी बलमार्फत खर्च हुनेगरी पूर्वाधार विकास क्षेत्रअन्तर्गत बजेट विनियोजन भएको छ । महानगरले आन्तरिक स्रोतबाट खर्च हुनेगरी यातायात सुरक्षा व्यवस्थापन कार्यक्रम अन्तर्गत ५ करोड विनियोजन गरेको थियो ।

महानगरले यो योजना ल्याएको पहिलोपटक होइन । आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि १२ करोड विनियोजन गरेको थियो । तर खर्च गर्न सकेको थिएन । यो पटक ल्याएको बजेट कार्यान्वयन गर्न महानगरपालिकाले गत भदौदेखि काम सुरु गरेपनि नतिजा भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्