३० लाखको बैंक ग्यारेन्टी बालकृष्ण खाँणले अदालतमा बुझाए

काठमाडौं २९, मंसिर । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी हुन् ।

३० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार उच्च अदालत पाटनले आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन् । अदालतमा उनले धरौटी रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएपनि तत्काल उनी छुट्ने छैनन् ।

उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागार स्रोतले बताएको छ ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको थियो ।

भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा कीर्ते गरेर खाँण गृहमन्त्री भएका बेला नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो ।

त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो । खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो ।

त्योविरुद्ध खाँणसहितका आरोपीहरु उच्च अदालत, पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको थियो ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । खरेलले तत्काल उनी निर्दोष छन् आधारहरु नदेखिएको भन्दै छाड्नु नहुने राय दिएका थिए । त्यसपछि बिहीबार तेस्रो न्यायाधीश कहाँ पेश हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्