अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य

काठमाडौं २८, मंसिर । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । १४ दिनको अन्तरालमा तेलको मूल्यमा प्रति ब्यारेल ५ डलरले घटेको छ ।

डिसेम्बर १ मा वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) प्रति ब्यारेल ७४.७ डलरमा कारोबार भएकोमा आज बिहीबार ६९.४७ डलरमा कारोबार भइरहेको छ ।

यस्तै ब्रेन्ट क्रुड आयलको मूल्य पनि घटेको छ। ब्रेन्ट क्रुड आयलको मूल्य बिहीबार प्रति ब्यारेल ७४.२६ डलरमा कारोबार भइरहेको छ। डिसेम्बर १ मा यसको मूल्य प्रति ब्यारेल ७८.८८ डलर थियो ।

गएको ३ महिनाको अवधिमा अन्तराष्ट्रिय बजारमा २२ प्रतिशतसम्मले कच्चा तेलको मूल्यमा गिरावट आएको देखिएको छ ।

नेपालमा पनि इन्डियन आयल कर्पोरेसन९आईओसी०ले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले अन्तराष्ट्रिय बजारमा कारोबार भइरहको कच्चा तेलको मूल्य र रिफाइनरीको कष्टको आधारमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्छ ।

त्यसैलाई आधार बनाएर निगमले नेपाली बजारमा बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने प्रावधान छ । आईओसीले नेपालका लागि आज नयाँ मूल्यसूची पठाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्