१४ किलो सुन प्रकरणमा सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं, २८ मंसिर । प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।

विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।

प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि समिति गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।

यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्