ईःको आन्दोलनमा स्थानीयको विरोध

काठमाडौं, २६ मंसिर । मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेको विरोधमा उभिएका अभियन्ता ईःको स्थानीयले विरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः ललितपुरमा पनि मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्न पुगेका थिए ।

पाटनका स्थानीयले नै विरोध गरेपछि अहिले सुरक्षाकर्मीको ठूलो संख्या खटाइएको छ । ‘हामी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै उभिन थालेका थियौं तर उभिन सुरु भएको पाँच मिनेटमै स्थानीयले आएर हामीसँग झगडा गरे । अहिले हामी प्रहरीको सुरक्षा घेरामा छौं,’ अभियानकी सदस्य रहेकी अभियन्ता रक्षा बमले भनिन् ।

उनका अनुसार स्थानीयले ‘सम्पदा मास्न पाइँदैन, फुटपाथमा व्यापार चाहिँदैन’ भन्दै नाराबाजी गरेर ईःले थालेको आन्दोलनको ब्यानर च्यातिदिएका थिए ।

अहिले पुल्चोकमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्