सुनका आरोपीसँग सोधपुछको लागि भाषाको समस्या

काठमाडौं, २४ मंसिर । साढे ६ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ परेका इजिप्टका नागरिकको बयान लिन भाषाको जटिलता देखिएको छ ।

अर्ध ठोस बनाएर ल्याइएको सुनसहित पक्राउ परेका इजिप्टका नागरिक सरिफ मोहमद लासिम अंग्रेजी नबोल्दा बयान लिन समस्या भएको हो । उनले अरबिक बोले जस्तो बुझिएपछि अहिले अनुवादकको खोजी भइरहेको छ ।

‘उनले अंग्रेजी जान्दै नजान्ने हुन् वा अनुसन्धानमा असहयोग गरेका हुन् भन्ने निष्कर्षमा पुग्न बाँकी छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले भने, ‘तर उनले अलिअलि अरबिक बोले जस्तो बुझिएको छ ।’

प्रहरीले उनीसँगै रहेका दुई जना सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ । क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा सरिफसँगै हिँडेको देखिएपछि सम्बन्ध रहेको हुनसक्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको डीआईजी चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्