एनसेल बिक्री नाटक मात्र होः राजेन्द्र पाण्डे
काठमाडौं २२, मंसिर । एनसेल सेयर स्वामित्व बिक्री नाटक मात्र भएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताएका छन् । विषय गम्भीर र भयावह भएको शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बताए ।
बिक्रीको नाटक मात्र हो, बिक्री हो जस्तो लाग्दैन, पहिले नै श्रीमतीको नाममा २० प्रतिशत थियो, श्रीमानको नाममा अर्को कम्पनी खडा गरेर ८० प्रतिशत आयो यस्ता खालको काम भएका छन्, यो नाटक हो, यसमा अलि ध्यान दिनुपर्छ’ पाण्डेले भने ।
गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो ।
एनसेलको बाँकी २० प्रतिशत शेयर आचार्यकी पत्नी भावना सिंह श्रेष्ठको नाममा छ । एनसेलको बिक्री मूल्य पनि आजियटाले किनेको मूल्य भन्दा ९६ प्रतिशत अर्थात् करिब ५ करोड अमेरिकी डलर मात्र रहेको सार्वजनिक गरिएको थियो । त्यसैले उक्त कारोबार अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ, सरकारले पनि छानबिनका लागि समिति गठन गरेको छ ।
खर्बको पुँजी भएको र राम्रो कमाइ भइरहेको कम्पनीलाई अर्बमा बेचिएको भन्दै एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेले यस विषयमा आवश्यक परेमा प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने बताए ।
‘एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भूमिकामा कमी आउन दिनु हुदैन, प्रधानमन्त्रीलाई बोलाएर के के स्टेप चाल्नुभयो भनेर सोध्न सक्छौं’, उनले भने ।











प्रतिक्रिया दिनुहोस्