ललिपुर महानगरले फुटपाथ पसल निषेधित क्षेत्र तोक्यो

काठमाडौं, १९ मंसिर। महानगरभित्रका केही ठाउँलाई ललितपुर महानगरले फुटपाथ पसल निषेधित क्षेत्र बनाएको छ।

मंसिर २४ गते मंगलबजारदेखि लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्र हुने कुरा सूचना टाँस्दै प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।

उनका अनुसार यही मंसिर २४ गतेदेखि उक्त क्षेत्रमा फुटपाथ राख्न नदिने निर्णय भएको छ, जसका लागि अहिलेदेखि नै सूचना टाँसेर सूचित गराउने काम भइरहेको छ।

आइतबारदेखि मंगलबजारबाट लगनखेल बसपार्कसम्म कुनै फुटपाथ पसल राख्न पाइने छैन, उनले भने, तर बिहान ८ बजेसम्म तरकारी व्यापार गर्न भने पाइने छ।

फुटपाथ पसलको संख्या बढेर सुरक्षा व्यवस्थापन गर्न कठिन भएपछि बाध्य भई महानगरपालिकाले उक्त निर्णय लिएको उनको भनाइ छ।

छिमेकी महानगरमा फुटपाथ व्यापारी हटाइयो। त्यसपछि यहाँ ६ बजेपछि व्यापार गर्न दिन्छ भनेर व्यापारी आउन थाले उनले भने, पहिले ४०० जना मात्र भएको फुटपाथ व्यापारीको संख्या अहिले बढेर हजार पुगिसकेको छ। ठाउँभन्दा धेरै मान्छे भएपछि झै–झगडा, पाकेटमार जस्ता गतिविधि बढ्न थाले।

यस्तै, दोस्रो भनेको ती क्षेत्रमा सटर पसलले नै पसलबाहिर सानो ठाउँ भाडामा दिने गरेको भेटिएको उनले बताए।

हाछेथुका अनुसार सटर बाहिरको सानो ठाउँ सटर र फुटपाथ व्यवसायीबीच किनबेच हुने गरेको छ।

मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रमा ११७ वटा पसल छन्, उनले भने, त्यसमध्ये ४७ वटा पसलेले आफ्नो पसल बाहिरको ठाउँ मासिक १० देखि २५ हजारसम्म बेचेको भेटियो। यस्तो विकृति देखेपछि पनि यो निर्णय लिएका हौं।

अहिले पहिलो चरणमा ललितपुर महानगर वडा नम्बर १२ र १९ बाट फुटपाथ निषेध कार्य सुरू गरेको उनले बताए।

अर्को चरणमा नाइट मार्केट कसरी सञ्चालन गर्ने भनेर काम समेत भइरहेको उनले बताए।

यसअघि ललितपुर महानगरपालिकाले बेलुकी छ बजेपश्चात फुटपाथ व्यवसायीलाई व्यापार गर्न दिएको थियो भने बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल राख्न दिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्