माओवादीको विधान सम्मेलन कहिले ?
काठमाडौं, १८ मंसिर। नेकपा माओवादी केन्द्रको मंसिरमा हुने भनिएको विधान सम्मेलन सर्ने भएको छ।
मंसिरका लागि तय गरिएको सम्मेलन पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता, जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समय थप लगायतका कारण सर्ने निश्चितजस्तै भएको हो।
गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा पार्टीको विधान सम्मेलन र त्यसको ६ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।
पार्टी विधि र पद्धतिसम्मत नचलेको, नेतृत्व मनोमानी रूपमा चलेको भन्दै बैठकमा केन्द्रिय सदस्यहरूले प्रश्न उठाएपछि माओवादीले विधानसम्मेन गर्ने निर्णय गरेको थियो।
विधानसम्मेलन अघि पार्टीलाई कस्तो बनाउने भन्नेबारे जनतासँग छलफल गर्ने भन्दै उसले भदौ १७ गतेदेखि मंसिर १७ गतेसम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो।
तर अभियान सकारात्मक रूपमा चलिरहेको भन्दै एक महिना थपेर पुस १७ गतेसम्मका लागि सारिएको छ।
‘अभियान एक महिना पछि सारिएकाले मंसिरमै विधान सम्मेलन नहुने निश्चित जस्तै छ,’ माओवादीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले भने,‘कहिले गर्ने भन्नेबारे बैठक बसेर निर्णय हुन्छ।’
रूपान्तरण अभियान अन्तर्गत माओवादीले योजनावद्ध रूपले सदस्यता वितरण, नयाँ समिति निर्माण, सदस्यता नवीकरणको अभियान गर्ने निर्णय गरेको थियो। ती अभियान अहिले यथावत् नै रहेको प्रवक्ता सापकोटाले बताए।











प्रतिक्रिया दिनुहोस्