७ जनासँग धरौटी माग, ३ जना साधारण तारेखमा नक्कली भुटानी शरणार्थी प्रकरणमा छुटे

काठमाडौं १५, मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

हरिभक्त महर्जनसहित ७ जनालाई न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले १० लाखदेखि ३० लाखसम्म धरौटी माग गरेको हो ।

जसमा हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख धरौटी माग गरिएको छ । त्यस्तै टेकनाथ रिजालसँग १५ लाख, रामशरण केसीसँग १५ लाख र नरेन्द्र केसी १० लाख धरौटी माग गरिएको हो । यसैगरी सन्दीप रायमाझीसँग ३० लाख धरौटी माग भएको छ ।

त्यस्तै लक्ष्मी महर्जन, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ । उच्च अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

पुर्पक्षका लागि थुनामै रहनेमा टेकनारायण पाण्डे, डा। इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, शन्देश शर्मा, आङटावा शेर्पा रहेका छन् ।

यसैबीच न्यायाधीशको राय बाझिएका कारण पूर्वगृहमन्त्री बालकृष्ण खाण भने अर्को न्यायाधीशले आदेश दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्