सरकारले उत्तर कोरियाली दूतावास बन्द हुँदा पनि वेवास्ता गरेको भन्दै सुवालको आपत्ति

काठमाडौं, १४ मंसिर। सांसद प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) ले नेपालमा उत्तर कोरियाको राजदूतावास बन्द हुँदा पनि सरकारले चासो नदिएको भन्दै घोर आपत्ति प्रकट गरेका छन् ।

नेपालमा उत्तर कोरियाबाट आएर आइटी, मेडिकल क्षेत्रमा काम गर्ने कामदारलाई देश निकाला गर्नु उचित नभएको कुरा बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बताए ।

सांसद सुवालले भने– ‘नेपालबाट उत्तर कोरियाको राजदूतावास किन उठेर गयो ? ५५ वर्षअघि देखि मैत्रीपूर्ण सम्बन्ध रहेको देशले आफ्नो दूतावास हटाउनु राम्रो होइन । दूतावास हटाउनुको कारण के थियो सरकारले संसद्लाई जानकारी गराउनुपर्छ कि पर्दैन ? यसबारे समितिले सरकारसँग जवाफ माग्नुपर्छ । उत्तर कोरियाबाट नेपालमा आइटी र मेडिकल क्षेत्रमा केही कामदारले काम गरिरहेका थिए । उनीहरूलाई नेपालबाट निकाला गरिएको छ । लाखौँ नेपालीले अरूको देशमा गएर काम गर्न हुने, नेपालमा अरू देशका आएर काम गर्न नहुने भन्ने यस्तो पनि हुन्छ ?

सांसद सुवालले रुस र युक्रेनको युद्धमा नेपाली युवाहरूले ज्यान गुमाइरहेको बताउँदै नेपाली युवालाई भाडाको सैनिक बन्नबाट रोक्न माग गरे । भाडाको सैनिकको रूपमा नेपाली प्रयोग हुने अवस्था रोक्न समितिले सरकारलाई कडा निर्देशन दिनुपर्ने उनको भनाई छ । सांसद सुवालले भाडाको सैनिक हुने प्रक्रिया नरोक्ने हो भने मन्त्री, प्रधानमन्त्रीको छोरा छोरी पनि भाडाको सैनिक हुनुपर्ने छ भनेर ऐन बनाउनुपर्‍यो भन्दै कटाक्ष गरे ।

प्रतिक्रिया दिनुहोस्