मनकामना केबुलकारले २५ वर्ष पूरा, डिजिटल प्रविधिमा स्तरोन्नति
काठमाडौं । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । स्वप्नदर्शी उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा एक विज्ञप्ति जारी गर्दै यसको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ ।
कम्पनीले माता मनकामनाको असीम अनुकम्पा र यात्रुजनको स्नेहले मनकामना केबुलकार सेवा यातायातको क्षेत्रमा विशिष्ट इतिहास रच्न सफल भएको बताएको छ । ‘२५औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदा अर्पण गर्न चाहन्छौं,’ मनकामना दर्शन प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केबुलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ । केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ ।
मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । प्रालिले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको हो । देशमा सशस्त्र द्वन्द्व चलिरहेको बेला अनेकौं चुनौतीको सामना गर्दै ठूलो लगानीमा केबुलकार सेवा सञ्चालन गरेर कम्पनीले ठूला लगानीकर्ता एवं उद्यमी व्यवसायीमा उत्साह जगाउने काम गरेको थियो । मनकामना केबुलकारको थालनीले नेपालमा लगानीको ठूलो सम्भावना रहेको सन्देश पनि प्रवाह गरेको थियो ।
सुरुका २र४ वर्ष अपेक्षाअनुरुप यात्रु नआए पनि अविचलित सेवालाई निरन्तरता दिएको कम्पनीको भनाई छ । २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको अवसरमा हाम्रो परियोजनामा ऋण लगानीको अगुवाइ गर्ने नेपाल बैंक लिमिटेड तथा अन्य लगानीकर्ता राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंकको योगदानलाई पनि कम्पनी स्मरण गरेको छ । सेवा सुरु गरेको ६ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य रहेकोमा तत्कालीन विषम परिस्थितिका कारण ऋण चुक्ता गरिसक्न ७ वर्ष लागेको कम्पनीले जनाएको छ ।
२५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौरअसोजमा सम्पन्न गर्ने योजना अनुसार काम गरीरहेको छ । सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ । अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्चालन हुनेछ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुनेछ ।
साथै, सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । हाम्रो भगिनी संस्था रिसोर्टस् बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा लगानी करिब ५५ करोड रुपैयाँ हुने अनुमान छ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य रहने पनि प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
मनकामना केबुलकारले सुरुआती वर्षमा २–३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य छ ।
कम्पनीलाई यहाँसम्म आइपुग्न मदत गर्ने सम्पूर्ण यात्रु, गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिका, दुवै गाउँपालिकासम्बद्ध व्यक्तित्वहरु, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी निकाय र कम्पनीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा कम्पनीले हार्दिक कृतज्ञता प्रकट गरेको छ । कम्पनीले आफ्ना कर्मचारीको लगनशीलता र योगदानको उच्च कदर गर्दै सबैमा धन्यवाद ज्ञापन गरेको छ ।















प्रतिक्रिया दिनुहोस्