जनकपुर न्युरो हस्पिटलमा बालकको मृत्यु, पीडितलाई १० लाख दिई मिलापत्र
काठमाडौं, ८ मंसिर । जनकपुरधामस्थित जनकपुर न्युरो हस्पिटलमा बालकको मृत्यु भएको घटनामा पीडित परिवारलाई रकम दिएर मिलाएको पाइएको छ।
गए राति २ बजे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुषन सिंह समेतको रोहबरमा भएको वार्तामा कानुनी कारबाहीमा नजाने शर्तमा पीडित परिवारलाई १० लाख राहत दिने सहमति भएको हो।
हस्पिटलले डिस्चार्ज गरेलगतै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोल बस्ने साढे चार वर्षीय जेम्स कालिकोटेको मृत्यु भएको थियो। जेम्सको बिहीबार बिहान ११ बजे मृत्यु भएको हो।
पेट दुख्ने र वान्ता आउने समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान उनलाई डा। शशीभुषन ठाकुरको क्लिनिकमा लगिएको थियो। त्यहाँबाट डाक्टरले उनलाई न्युरो हस्पिटल पठाएका थिए।
बिरामीको स्वास्थ्य अवस्था समान्य भएको भन्दै बिहीबार बिहान हस्पिटलले डिस्चार्ज गरेको थियो।
‘रातभर केही भएन, बिहान पनि रिपोर्टमा सबै नर्मल देखियो। बिरामीको आमाले हामी काठमाडौँमै बस्दै आएका छौं। अब केही परे उतै देखाउला भनेर आग्रह गरेपछि डाक्टरले डिस्चार्ज गरेको हो। मृत्युको कारण त पोष्टमर्टम पछि थाहा हुन्थ्यो। मुटु बन्द भएर उनको मृत्यु भएको अनुमान छ,’ अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले भने।
ीबहmष् दबलप
चिकित्सकले डिस्चार्जको बेला बालकको वास्तविक स्वास्थ्य अवस्था नबताएको आरोप परिवारको छ। पीडित परिवारले बालको शव उठाउन मानेका थिएनन्। उपचारमा संलग्न चिकित्सकलाई कारबाही र ५० लाख रुपैयाँ राहत माग गर्दै पीडित परिवारले टायर बालेर आन्दोलनमा उत्रिएका थिए।
अस्पतालमा तोडफोड गरेको भन्दै आन्दोलनमा उत्रिएका पीडित परिवारका ६ जनालाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस्