नजिकिँदै फेरि पनि प्रचण्ड र बाबुराम !
काठमाडौं, ६ मंसिर । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया फेरि पनि अघि बढेको छ।
प्रतिनिधि सभा चुनावमा समाजवादी पार्टीले माओवादीको चुनाव चिन्ह लिएर आफ्ना उम्मेदवार उठाएको थियो। त्यसपछि पार्टी एकता गर्न विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म निष्कर्षमा पुगेको छैन।
केही दिनदेखि माओवादी(नेसपाबीच पार्टी एकता गर्न छलफल भइरहेका छन्। मंसिर ३ गते दुवै पार्टीका नेताहरूबीच पार्टी एकता संयोजन समिति गठन गर्नेजस्ता विषयमा सहमति भएको थियो।
माओवादीबाट वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाबाट वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै पार्टी एकता प्रक्रिया अघि बढाउन संयोजन समिति गठन गर्न दुवै पार्टी नेतृत्वलाई सुझावसमेत दिएका छन्।
जसअनुसार बाबुराम भट्टराई नेतृत्वको नेसपाले मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठकमा पार्टी एकताजस्ता विषयमा छलफल गरेको थियो।
नेसपाले माओवादीसँग पार्टी एकताका लागि संयोजन समिति गठन गर्नेलगायत विभिन्न एजेन्डामा छलफल गर्न बुधबारदेखि केन्द्रीय समिति बैठक पनि राखेको छ।
नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले पार्टी एकताका विषयमा नेतृत्व तहमै अब छलफल हुने बताए। नेसपा अध्यक्ष भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने गृहकार्य भइरहेको छ।
‘राजनीतिक र वैचारिक विषयमा स्पष्टताका लागि पनि नेतृत्व तहमै संयोजन समिति गठन गर्ने तयारी छ, नेसपाले भट्टराईको नेतृत्वमा नेताहरू रहेको समिति र माओवादीले प्रचण्ड नेतृत्वमा समिति बनाउने सम्भावना छ,’ पोखरेलले भने, ‘हामीले ९ बुँदे प्रस्ताव गरेको लामो समय भइसकेको छ, माओवादीबाट ठोस कुरा नआउँदा यतिन्जेल एकता प्रक्रिया अघि बढेको थिएन।’
एकतापछि पार्टीको नाम के राख्ने भन्ने विषयमा पनि नेसपा र माओवादीका नेताहरूबीच छलफल भइरहेका छन्। नेपाल कम्युनिष्ट पार्टी राख्ने कि नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ। भट्टराईले नेकपा (समाजवादी) राख्नुपर्ने बताइरहेका छन्।
गत कात्तिक भदौ ३० गते माओवादीका अध्यक्ष दाहाल र महासचिव देवप्रसाद गुरूङले नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्र पठाएर पार्टी एकताको आह्वाना गरेका थिए। उक्त पत्रबारे भट्टराई पक्षधरहरूले यादवकै फेसबुक पेजबाट सार्वजनिक भएपछि मात्रै थाहा पाएका थिए।
त्यसअघि पनि समाजवादी मोर्चा बनाउँदा नेसपालाई सामेल नगराइएपछि प्रचण्ड र भट्टराईका बीचमा तिक्तता बढ्दै गइरहेको थियो।
त्यसपछि भट्टराईले प्रचण्ड आफ्नै स्वार्थमा केन्द्रित रहेका कारण एकता सम्भव नभएको प्रतिक्रिया दिएका थिए।
केही दिनअघि रूकुम पुगेका माओवादी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले पार्टी एकताको प्रक्रिया अघि बढाएको र भट्टराई र विप्लव समूह पनि छिट्टै एकीकरण प्रक्रियामा सामेल हुने बताएका थिए।
माओवादी केन्द्रको गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकता गर्ने र त्यसका लागि पार्टीको नामसमेत परिवर्तन गर्ने निर्णय गरेको थियो।
०७२ असोज ९ गते भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरेका थिए।
माओवादीबाट नयाँ शक्ति, जनता समाजवादी पार्टी (जसपा) हुँदै भट्टराईले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए।











प्रतिक्रिया दिनुहोस्