हमासका–इजरायलसँग सम्झौताको नजिक, के रोकिएला त संघर्ष
काठमाडौं ५, मंसिर । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ ।
हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतारमार्फत् आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि थ्याङ्कस गिभिङको एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास सम्झौताको नजिक रहेको संकेत गरेका थिए । इजरायलले आक्रमण रोक्ने र त्यसको बदला हमासले बन्धक बनाएका केहीलाई रिहा गर्नसक्ने बाइडेनको भनाइ छ ।
मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी ९आईसीआरसी० ले यसअघि हमासको बन्धकबाट छुटेकाहरुलाई सहयोग गरेको थियो । हाल आईसीआरसीका प्रमुख हमासका नेताहरुलाई भेट्न कतारमा रहेका छन् । त्यसैले पनि इजरायल र हमासबीच छिट्टै कुनै सम्झौता हुनसक्ने सम्भावना व्यक्त भइरहेको छ ।
बीबीसीका जेरुसेलम सम्वाददाताले पनि केही लामो युद्धविरामको बदलामा केही बन्धकहरुलाई छुटाउन डिल भइरहेको बताएका छन् ।
समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै पाँच दिने युद्धविरामको तयारी भइरहेको जनाएको छ । त्यसको बदलामा हमास र प्यालेस्टाइनको अर्को एक चरमपन्थी समूह इस्लामिक जिहादले बन्धक बनाएका ५० देखि १०० जनालाई रिहा गर्नसक्ने छ । रिहा हुनेमा इजरायल र अन्य देशका बन्दीहरु हुनेछन् तर त्यसमा सुरक्षाकर्मीहरु हुने छैनन् ।
प्रतिक्रिया दिनुहोस्