हालसम्म १० जनाको मृत्यु, चिसोको सिकार बने भूकम्पपीडित

काठमाडौं, ४ मंसिर। जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भूकम्पपीडितहरू चिसोबाट उत्पन्न हुने रोगको सिकार हुन थालेको बताए । चिसोका कारण भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ ।

भूकम्पपछि त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घ रोगी र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । मेयर घर्तीले पछिल्लो एक साताको अवधिका १० जनाको मृत्यु भएको बताए । भूकम्पपछि चिसोका कारण मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालीका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट–६ ताँसीका ५५ वर्षीय वीर कहादुर विक, जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरीनगरपालीका वडा नं ४ तल्याउनका केशव भडेल छन् । मृत्यु हुने अधिकांश दीर्घ रोगी रहेका छन् ।

जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवार कात्तिक १७ को भूकम्पपछि त्रिपालमुनि बस्न बाध्य छन् । ‘पीडितहरूलाई त्रिपालको बसाइ निकै कष्टकर भएको छ,’ उनले भने, ‘त्रिपालले चिसो सोस्दो रहेछ । त्यसपछि पानी तल फाल्दा मुनि सुत्ने बस्नेलाई बढी चिसो भयो । जसका कारण बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घ रोगी धमाधम बिरामी परेका छन् ।’

भूकम्प प्रभावित क्षेत्रका नागरिकमा चिसोबाट लाग्ने रोगको सिकार हुने दर बढ्ने देखिएको छ । आफन्त गुमाएका, परिवार बस्ने बास ध्वस्त भएका, भूकम्पमा परी घाइते भएका र गाँस, बास आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका मानिस क्रमशः मानसिक समस्याको सिकार हुन थालेको समेत घर्ती सुनाउँछन् ।

भूकम्पपीडितहरूमा धेरैलाई रातभरि निद्रा नलाग्ने, मनमा अनेक कुरा खेलिरहने, रोइरहने, टोलाउनेलगायत समस्या रहेको उनले सुनाए ।

तत्काल फाइबर टेन्टको व्यवस्था गरौँ

मेयर घर्तीका अनुसार जाडोबाट भूकम्पपीडितलाई चिसोबाट सर्ने नसर्ने रोग सिकार हुनबाट जोगाउन तत्काल त्रिपालको सट्टामा स्थायी टहरा निर्माण नहुन्जेल अस्थायी डबल लेअर भएको फाइबर टेन्ट भएको खण्डमा बचाउन सकिने बताउँछन् । यो समयमा त्रिपालमुनि बास सीमित भएमा चिसोबाट लाग्ने रोग र सङ्क्रामक रोगबाट ठूलो समूह प्रभावित भई अर्को आपत् आइपर्ने त्रास भयो ।

उनले भने, ‘गाउँघरबाट खबर आउन सुरु भयो । त्रिपालमुनि बस्दा केटाकेटी र बुढाबुढी बिरामी पर्न थाले, मृत्यु भयो चिसोले भनेर त्रिपालमुनि बस्दा चिसो रात कटाउन मुस्किल भयो, ज्यानलाई न्यानो बनाउन कपडा छैन । त्रिपालको सट्टामा चिसोबाट बच्न गोठ बनाउनु पर्छ कि भन्न थाले ।’

उता सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले चिसोका कारण रुघाखोकी अहिले फैलिँदो क्रममा रहेकाले ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी दीर्घ रोगी बढी प्रभावित हुने बताए । त्रिपालमुनि बस्नेहरूमध्ये कसैलाई फ्लु सङ्क्रमण भएमा अन्य व्यक्ति सर्ने सम्भावना उच्च रहने उनको भनाइ छ ।

न्यानो ओतको अभाव हुँदा बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, गर्भवती र सुत्केरीलाई सरुवारोग, रुघाखोकी, ज्वरो, निमोनिया जस्ता स्वास्थ्य समस्या देखिने सक्ने उनको भनाइ छ ।

प्रभावित क्षेत्रमा अव्यवस्थित शौचालय भएमा, शुद्ध पानी प्रयोग नभएमा हैजा, झाडापखाला, टाइफाइड, रुघाखोकीलगायतका सङ्क्रामक रोगहरूले सताउन सक्ने उनले बताए ।

प्रयोग गर्ने तथा खाने पानी, शौचालय, हावाबाट सङ्क्रमण हुने रोग देखिएमा चाँडोभन्दा चाँडो निर्क्योल गरी थप फैलनबाट रोक्नुपर्ने डा. पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्