विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया आज भिड्दै

काठमाडौं ३, मंसिर । रोहित शर्मा र विराट कोहली सम्मिलित भारतीय टिमले विश्वकप फाइनलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियासंग
आज भिड्दै छ।

फाइनल खेल नरेन्द्र मोदी स्टेडियममा हुन छ । यस स्टेडियमको दर्शक क्षमता एक लाख ३० हजार रहेको छ । सन् २०१५ मा यसको निर्माण सुरु भएको थियो र त्यति बेला यसको उद्देश्य थियो, आठ वर्षपछि यही फाइनलको आयोजना गर्ने । यस्तोमा सबैभन्दा बढी दर्शकको कीर्तिमान पनि बन्ने छ ।

चेन्नाइबाट धर्मशाला अनि मुम्बईबाट कोलकाता, भारतले पछिल्ला छ साता राष्ट्रिय भावनामा डुबेका आफ्ना समर्थक अगाडि खेलेको छ । यसक्रममा भारतले लगातार १० खेल जितेको छ र यो नै पूरा प्रतियोगितामा अपराजित एक्लो टिम रहेको छ । फाइनलमा दर्शक पूरापूर भरिनेछ, त्यसैले फाइनल रोमाञ्चक हुनेछ ।

 

आजको खेलमा दर्शक पूर्णतः एकपक्षीय रहने छ । अष्ट्रेलियाली टिमलाइ यिनै दर्शक झेल्नु बाहेक अर्को उपाय छैन् । तर खेलकुदमा यस्ता दर्शकलाई चुपचाप पार्नुको मज्जा पनि छ । अष्ट्रेलियाको टिमको उद्देश्य फाइनलमा त्यही हो, भारतीय समर्थकलाई स्तब्ध पार्ने । सबैको नजर पर्ने एक खेलाडीमा विराट कोहली पनि रहने छ । जुन स्वभाविक पनि छ र उनकै प्रदर्शन धेरै हदसम्म भारतको जित हार तय गर्नेछ ।

कोहली त्यस्ता खेलाडी हुन्, जसले वान डे क्रिकेटमा ५० शतक बनाएका छन् । अनि यसपल्टको विश्वकपमा सात सय ११ रन बनाइसकेका छन्, १० इनिङ्समा । उनको ओसत बनेको छ, १०१।५७ । उनको धेरै पछाडि रोहित र डेविड वार्नर छन् । रोहितले पाँच सय ५० रन बनाएका छन् भने वार्नरले पाँच सय २८ । तर भारतको यस विश्वकपमा सुमधुर यात्रा पछाडि त्यो भन्दा पनि ठूलो कारण छ र त्यो हो, बलिङ । त्यसको नेतृत्व गरिरहेका छन्, मोहम्मद सामीले ।

उनले छ खेलमा २३ विकेट लिएका छन् । खासमा सामी पहिलो रोजाईका खेलाडी पनि थिएनन्, हाद्र्धिक पान्ड्या घाइते भएपछि उनको स्थान लिने । हाद्र्धिकको स्थानमा सार्दुल ठाकुर अथवा रविचन्द्रन आश्विनले खेल्ने सक्थे । तर मौका सामीले पाए र त्यसको भरपूर फाइदा उठाए । उनलाई जसप्रित बुमराहले बलियो साथ दिइरहेका छन्, १० खेलमा १८ विकेट लिएर । सँगै रविन्द्र जडेजा र कुलदीप यादवको स्पिन बलर जोडीले एकआपसमा ३१ विकेट लिइसके ।

भारतको बलिङ कति धेरै घातक भएको छ भने यस विश्वकपमा विपक्षी टिम दुई पल्ट सय रन भन्दा मुनि समेटिएको छ । यस्तै दुई पल्ट नै विपक्षी टिम दुई सय रनको स्कोर मुनि रोकिएको छ । यसरी भारतविरुद्ध सस्तोमा आउने हुनेमा अस्ट्रेलिया पनि पर्छ । लिग चरणमा अस्ट्रेलियाले एक सय ९९ रन मात्रै बनाउन सकेको थियो । ‘अहिलेको भारतीय टिमको विशेषता भनेकै बलिङ रहेको छ,’ ओपनर शुभमन गिल मान्छन्, ‘हाम्रा बलरले सजिलै विपक्षी टिमलाई सस्तोमा समेटिरहेको छ ।’

विश्वकपको इतिहासमा यी दुई टिमले दुई पल्ट एक आपसको सामना गरेका छन्, उपाधिको भिडन्तलाई छाडेर । सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई सिड्नीमा हराएको थियो । सन् २०११ मा भने युवराज सिंहबाट प्रेरित भारतले अस्ट्रेलियालाई क्वाटरफाइनलमा रोकेको थियो । सन् २००३ को जोहानसबर्गमा भएको फाइनल भने यिनै दुई टिमबीच भएको थियो, त्यसमा रिकी पोन्टिङको अस्ट्रेलिया सजिलै एक सय २५ रनले विजयी रह्यो ।

अस्ट्रेलियाली फास्ट बलर मिचेल स्टार्क भन्छन्, ‘भारत यस प्रतियोगिताकै सबैभन्दा राम्रो टिम रहेको छ, यसमा कुनै दुविधा छैन् । हामी पनि कम छैनौं, त्यसैले त फाइनल पुगेका छौं । अब अन्तिम खेल छ, निर्णायक खेल छ । उपाधि जितेर प्रतियोगिता जित्नु जत्तिको खुसी अरू केही हुने छैन् ।’ भारतको काम अस्ट्रेलियाको यही योजनालाई तहसनहस पार्नु हो र फेरि एकपल्ट आफ्नै भूमिमा विश्वकप जित्नु हो । उत्कृष्ट भारतको अन्तिम तगारो अस्ट्रेलिया नै हो ।

प्रतिक्रिया दिनुहोस्