५ करोड ९५ लाख रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा

काठमाडौं २२, कात्तिक । गत आइतबारदेखि मंगलबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । देश र विदेशमा रहेका नेपालीहरुलाई अपिल गरी जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत दिन सरकारले पहल कदमी लिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार मंगलबारसम्म बैंकमा जम्मा भएको रकम ५ करोड ९५ लाख रुपैयाँ हो । उनका अनुसार सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक सम्बन्धित बैकमा क्लियरेन्सका लागि पठाइएको छ । उनले भने,‘ हामीले तोकेको बैंकहरुका खातामा अहिलेसम्म जम्मा भएको रकमको विवरण यही हो, थुप्रै चेकहरु आएका छन्, बैंकमा क्लियरेन्सका लागि पठाएका छौँ ।’

 

सरकारी कर्मचारीको तलब काटिने

भूकम्प पीडितलाई सहयोगार्थ सरकारी कर्मचारीको तलब कट्टा हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सहसचिवदेखि मुख्यसचिवसम्मको तीन दिनको, शाखा अधिकृतदेखि उपसचिवसम्मको दुई दिनको र यस मुनिका तहका कर्मचारीको एक दिनको तलब कट्टा गरिने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखा प्रमुख भण्डारीका अनुसार तलब कट्टाका लागि सम्बन्धित कार्यालयहरुलाई मन्त्रालयमार्फत जानकारी गराइसकेका छ ।

प्रतिक्रिया दिनुहोस्