गाजा युद्धको एक महिनामा मारिनेको संख्या १० हजार नाघ्यो

काठमाडौं २१, कात्तिक । हमासले गत अक्टोबर ७ मा इजरायलमा अकस्मात आक्रमण गर्यो । उक्त आक्रमणमा १० जना नेपालीसहित १ हजार ४०० बढीको मृत्यु भयो । त्यसपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘युद्ध’को घोषणा गरे, हमासलाई सकाउने भन्दै प्यालेस्टाइनको गाजामा आक्रमण सुरु गरे ।

हमासलाई सिध्याउने भन्दै गाजा लक्षित आक्रमण भइरहेको एक महिना पूरा भएको छ । तर, इजरायलको आक्रमणबाट हमासभन्दा बढी प्यालेस्टाइनी नागरिक मारिएका छन् हालसम्म १० हजार बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको बिभिन्न संचार माध्यमहरुले जनाएका छन् । जस मध्ये करिब ४ हजार बढी निर्दोष बालबालिकासमेत परेका छन् । यस युद्धमा यी बालबालिका जस्को कुनै भूमिका नै छैन ।

गाजामा मात्रै हालसम्म १० हजार २२ जनाको मृत्यु हुँदा वेस्ट बैंकमा १५५ जना मारिएका छन् दुवै ठाउँमा गरेर इजरायलको आक्रमणबाट ४ हजार १४६ जना बालबालिका मारिएका छन् ।

संयुक्त राष्ट्रसंघले गाजा बालबालिकाहरुको चिहान बनिरहेको प्रतिक्रिया दिएको छ । राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरसले गाजा बालबालिकाहरुको लागि चिहान बनिरहेको बताएका हुन् ।

‘सयौं बालबालिकाहरु हरेक दिन मारिँदैछन्। कयौं घाइते भइरहेका छन्,’ उनले तत्काल मानवीय सहायताका लागि युद्धविरामको अपिल गर्दै भने ।

इजरायलले पानी, खाद्यान्न र औषधिसमेत रोकेर गाजामा पूर्ण नाकाबन्दी लगाएको छ । गाजालाई चारैतिरबाट घेरेर इजरायलले प्यालेस्टाइनीमाथि आक्रमण गरिरहेको छ। जसकारण लाखौं मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघले मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्ताव पारित गरेपनि इजरायलले अस्वीकार गर्‍यो। अमेरिकाले इजरायलको अडानमा साथ दियो। अरब राष्ट्रले पनि तत्काल युद्धविरामको माग गरिरहेको छ। विश्वभर हमासको आक्रमणको निन्दासँगै प्यालेस्टाइनी नागरिकको सुरक्षाको माग गरिँदैछ। तर, इजरायल भने अहिले युद्धको समय भएको भन्दै आक्रमणमै केन्द्रित छ।

अमेरिका पनि युद्धविरामको पक्षमा छैन । युद्धविरामबाट हमासलाई फाइदा पुग्ने भन्दै अमेरिका पन्छिरहेको छ । पश्चिमा देशहरु पनि इजरायलको आक्रमणविरुद्ध बोल्न सकेका छैनन्। अरब राष्ट्रले अमेरिका र पश्चिमा देशको दोहोरो चरित्रको विरोध गरिरहेको छ ।

इजरायलले अक्टोबर ७ यता ८३ स्वास्थ्य चौकी र अस्पतालमै आक्रमण गरेको अलजजिराले उल्लेख गरेको छ। जसमा धेरै बालबालिका मारिएका छन्। इजरायली सेनाले अस्पताल नै खाली गर्न उर्दी जारी गरिरहेको छ । हाल गाजा क्षेत्रमा ५० हजार गर्भवती महिला रहेको बताइन्छ । हजारौको संख्यामा रहेका बिरामीहरु लाई उपचारको आवश्यकता रहेको छ । तर, इजरायलको आक्रमणले उनीहरुले स्वास्थ्य सेवाको पहुँचमा छैनन् ।

गाजामा प्रत्येक एक घण्टामा १५ जना मारिने गरिएको र त्यसमा ६ जना बालबालिका रहेको अलजजिराले दाबी गरेको छ । गाजा पुरै उजाड भएको छ ।

नोभेम्बर ३ सम्म आइपुग्दा गाजामा ३६ जना पत्रकारको समेत मृत्यु भइसकेको छ । पश्चिमा मिडियाले गाजाबारे रिपोर्टिङ गर्दा एकतर्फि इजरायलको पक्ष लिएको भन्दै आलोचनासमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्