भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन

काठमाडौँ, १८ कार्तिक। कार्तिक १७ गतेको २३:५० बजे जाजरकोट जिल्लाको बारिकोट गा.पा.-१, रामीडाँडा
केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित ईलाकामा नेपाली सेनाको खोज तथा उध्दार टोली
परिचालन भएको नेपाली सेनाले जनाएको छ । जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको
सहकार्यमा खोज तथा उध्दार कार्य जारी राखेको । परिचालित फौजले मृतकहरुको शव उद्धार गर्नुको साथै
घाईतेहरुको उध्दार गरी अस्पताल पठाउने कार्य गरिरहेको । साथै काठमाडौँ, सुर्खेत र नेपालगन्जमा डा. अधिकृत र
स्वास्थ्य सामाग्री सहितको टोली थप उध्दार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरुको थप
उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी
हालतमा रहेको ।
भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उध्दार कार्य गर्न NA-057 MI हेलिकप्टरबाट काठमाडौँ-
चौरजहारी ३ जना डाक्टर सहित १६ जना, NA-016064 स्काइ ट्रक, काठमाडौँ चौरजहारी १६ जना, NA-
061 BELL हेलिकप्टरबाट सुर्खेत लामिडाँडा ३ जना, NA-038 MI हेलिकप्टरबाट काठमाडौँ-चौरजहारी २६
जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएका छन् ।
परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उध्दार कार्य निरन्तर जारी
राखेको छ ।

प्रतिक्रिया दिनुहोस्