दसैंले व्यस्त विमानस्थलमा उडान अवतरणको संख्या बढ्दो

काठमाडौं ३ कात्तिक । दसैं र पर्यटकीय सिजनले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय उडानमार्फत तथा स्थलमार्ग हुदै नेपाल भित्रनेको संख्यामा वृद्धि र आन्तरिक उडानमार्फत उपत्यकाबाट बाहिरनेहरुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन विमानस्थलमा दसैंको मुख्य दिन नजिकिएसँगै विमानस्थलमा यात्रुको चाप बढेको बताए । उनका अनुसार विमानस्थलबाट अहिले दैनिक ३० हजार यात्रुले ओहोरदोहोर गरिरहेका छन् ।

अहिले यात्रुको आवागमन उल्लेख्य मात्रामा वृद्धि भएको छ । दुई दिनयता आन्तरिक र अन्तर्राष्‍ट्रिय उडानमार्फत दैनिक ३० हजार यात्रुले ओहोरदोहोर गरिरहेका छन्, दसैंसँगै पर्यटकीय सिजनका कारण सन् २०१९ अगाडिकै अवस्थामा जस्तो उडान गतिविधि भइरहेको छ ।

विमानस्थल कार्यालयले तयार पारेको विवरण अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ बुधबार ११३ वटा उडान अवतरणमार्फत १६ हजार ६३४ यात्रु ओहोरदोहोर गरेका छन् यसैगरी आन्तरिकतर्फ २७१ वटा उडान अवतरणमार्फत १३ हजार ६११ यात्रुको आउजाउ भएको छ ।

विमानस्थल कार्यालयका अनुसार सामान्य अवस्थामा आन्तरिकतर्फ दैनिक करिब आठ हजार र अन्तर्राष्ट्रियतर्फ करिब १० हजार यात्रुको ओहोरदोहोर हुने गरेको थियो ।

वैदेशिक रोजगारीमा गएकाहरु दसैं मनाउन घर फर्कने क्रम बढेकाले तथा विदेशी पर्यटकको पनि आगमन बढेकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका सबैजसो कम्पनीले यतिखेर उडान थपेका छन् । विदेशी पर्यटक लुक्ला, कालापत्थर लगायत गन्तव्य गइरहेका छन् यसले गर्दा विमानस्थल निकै व्यस्त बन्न पुगेको हो ।

आन्तरिकतर्फ बुद्ध, यती, श्री, सौर्य, समिट, नेपाल वायुसेवा निगम, तारा, सीता लगायत वायुसेवा प्रदायक कम्पनीले सेवा दिँदै आएका छन् ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम लगायत २४ अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले नियमित उडान गरि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्