को हुन् देउवासँग विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्की ?

काठमाडौं, असोज २८ ।  केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको इच्छा विपरित एमालेसँग सहकार्य गरेर मुख्यमन्त्री बनेपछि अहिले केदार कार्कीको चर्चा छ ।

कांग्रेस नेता शेखर कोइराला पक्षका नेता कार्की अहिले कोशीको मुख्यमन्त्री मात्र बनेनन्, उनले केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई पनि झट्का दियो । केन्द्रको गठबन्धन नै हल्लाउने गरि विद्रोह गरेका कार्की आफ्नो मिसनमा सफल हुदै शनिबार मुख्यमन्त्री नियुक्त भएका छन् ।

पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मिएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सहयोगी एवं उपकारी स्वभावका छन् ।

सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसामा अध्ययन गरेका उनी २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको एकाइ सभापति भएका थिए । उनले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरे । विसं २०५२ सालमा नेविसङ्घको क्याम्पस एकाइ सभापति भएका उनी त्यसपछि नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित भए । उनले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए ।

उनले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाले । मन्त्रीका रुपमा उनले मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिएका थिए । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नी, दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्