शेखरको चेतावनी- माओवादी पुर्वलडाकुका लागि सेनाको नियमको दुरुपयोग स्वीकार्य छैन

काठमाडौँ । नपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्-  ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।’

माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेल चलिरहेको बताइएका बेला कोइरालाको यस्तो चेतावनी आएको हो । प्रधानसेनापति शर्माले बेलायतको औपचारिक भ्रमणमा जानुअघि हालै म्याद थप गरिएका सहायक रथी अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाए पछि यो विषय विवादमा परेको हो ।

अब रिक्त हुने उपरथीमा बढुवा भए अधिकारी प्रधानसेनापति बन्ने प्रबल सम्भावना रहन्छ । तर नेपाली सेनाको स्रोतले भने अधिकारीलाई अतिरिक्त समूहमा राखिएको बताएको छ ।

अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा २०८१ भदौमा अवकाश हुँदैछन् । रोलक्रममा उनीपछि रहेका सरोजप्रताप राणा एक वर्ष म्याद थप्न नपाई यही सातादेखि बिदामा बस्दैछन् ।

राणापछिका सीताराम खड्का पनि शर्माअगावै अवकाशमा जाने भएकाले प्रधानसेनापतिका लागि ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा हुनेछ । राणा बिदामा बसेको या अवकाशमा गएको १३ दिनभित्र रोलक्रमबारे निर्णय भएन भने मेजर जर्नेलमै ताराध्वज पाण्डे पनि अवकाशमा जानेछन् । त्यस्तो अवस्थामा सहायक रथी अधिकारी उपरथीमा बढुवा हुनेछन् । उपरथीमा बढुवा भए उनी भावी प्रधानसेनापति बन्ने छन् ।

माओवादीका पूर्वलडाकुबाट नेपाली सेनामा समायोजन भएर सहायक रथीमा कार्यरत अधिकारीको गत भदौ ३१ मै पदावधि सकिदै थियो तर सरकारले सुटुक तीन वर्ष पदावधि थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्