अतिक्रमित नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री मोदी, नेपाललाई छैन जानकारी
काठमाडौं, असोज २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (बिहीबार) बिहानै अतिक्रमि नेपाली भूमि कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।
मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गर्ने जनाइएको छ । कैलाश दर्शनपछि प्रधानमन्त्री मोदीले नेपाली अतिक्रमित भूमि गुञ्जीका स्थानीयसँग छलफल गर्ने बुझिएको छ । नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग सामान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् । मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् । भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ।
नेपालको अनुमतिबिनै त्यस क्षेत्रमा भारतले सडक, बंकर, ब्यारेकलगायत सामरिक योजनाअन्तर्गतका पूर्वाधार पनि बनाइरहेको छ । भारतको राजधानी नयाँ दिल्लीबाट तिब्बतको मानसरोवर जाने सबैभन्दा छोटो दूरीको बाटो यही क्षेत्रमा पर्छ । मोदीको आगमनबारे भारतीय पक्षले नेपाललाई कुनै औपचारिक जानकारी गराएको छैन । भारतले प्रधानमन्त्री मोदीको भ्रमणबारे औपचारिक जानकारी नदिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्